-->

आइतवारको बिदा : विद्यालयलाई पढाइ नसकिने चिन्ता, विद्यार्थीलाई भने नयाँ कुरा सिक्ने 

Nawalpurfm

नवलपुर,मङ्सिर ४ । डडेल्धुराको परशुराम नगरपालिकाको भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर सिंह थ्वाल हरेक वर्ष मंसिरमा हुने अर्धवार्षिक परीक्षामा कति पढाइ सकियो भनेर मूल्यांकन गर्नु हुन्छ । यसपालि यसैगरी मूल्यांकन गर्दा अघिल्लो वर्षको तुलनामा कक्षा १ देखि १२ सम्मकै पाठ्यक्रम पछाडि परेको भेटियो । गएको वर्षको तुलनामा यसपालि दुईरतीन पाठ कम पढाइ भएको छ । अर्थात झण्डै १८–२० पाठ्यघण्टा कम पढाइएको छ । 

यो समस्या एउटा विद्यालयको मात्र होइन । पाठ्यक्रम बनाउँदा वर्षभरिको दिन र पाठ्यघण्टा हिसाब गरेरै बनाइन्छ । बीचमा एक दिन बिदा थपिँदा त्यो हिसाब बिग्रिन्छ । गाउँघरका विद्यालयको अवस्था अझ फरक छ । मेला, जात्रा, विवाह लगायतका अवसरमा शिक्षक विद्यालय पुग्छन्, तर विद्यार्थी आउँदैनन् । थ्वालका अनुसार गएको वर्ष अन्तिमका दुईरतीन पाठ जहिलै हतारमा सिध्याइन्थ्यो । पहिले पनि यस्तो अवस्थामा अन्तिमका पाठ सिध्याउनका लागि मात्र हतारमा पढाइन्थ्यो । ‘विद्यार्थीले बुझून् या नबुझून्, कोर्स सक्नैपर्छ भन्ने चाप हुन्थ्यो । यसपालि त्यो चाप अझ बढ्ने देखियो,’ उहाँले भन्नुभयो, ‘यसपालि कतिपय विषयमा चार–पाँच पाठ नै नभ्याइने अवस्था छ । यसलाई पूरा गर्न एक महिना अतिरिक्त समय चाहिने भएको छ ।’

अतिरिक्त समय थपेर पनि समस्या समाधान नहुने थ्वाल भन्नु हुन्छ । बिहान १० बजेदेखि ४ बजेसम्म चल्ने कक्षालाई बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म तन्काउँदा विद्यार्थीलाई त्यति लाभ हुँदैन । धेरै गाउँघरका विद्यालयमा शिक्षक र विद्यार्थीका लागि खाजाको व्यवस्था पनि छैन । अन्तिम समयमा हतारमा पाठ सक्न लगाउँदा विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्छ ।

उहाँका अनुसार विद्यार्थीका लागि आइतवारको बिदा रमाइलो लाग्ने कुरा हो, तर पाठ्यघण्टा घट्दा पाठ्यक्रम घटाइएन । समय र पाठ्यक्रमबीच तालमेल मिलाइएको भए गुणस्तरमा असर पर्दैनथियो । अहिले पाठ्यक्रम पुरानै छ, समय मात्र घटेको छ । त्यसको असर आउनु स्वाभाविक भएको उहाँ बताउनुहुन्छ ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै गएको चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयबाट आइतवारसमेत गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्यो । यो व्यवस्था अहिलेसम्म निरन्तर छ । शिक्षकहरूका अनुसार हप्तामा दुई दिनको बिदाले पाठ्यक्रम समयमै सक्न दबाब परेको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ९दोस्रो संस्करण, २०७९० अनुसार माध्यमिक तहका सबै कक्षामा एक शैक्षिक वर्षमा कम्तीमा २ सय ५ दिन पठनपाठन हुनुपर्छ । कक्षा १ देखि ३ मा साप्ताहिक २६ पाठ्यघण्टा अर्थात् वार्षिक ८ सय ३२ कार्यघण्टा पढाइ हुनुपर्छ । कक्षा ४ देखि १० मा हप्तामा ३२ पाठ्यघण्टा अर्थात् वार्षिक १ हजार २४ कार्यघण्टा तोकिएको छ । कक्षा ११ र १२ मा कम्तीमा २७ पाठ्यघण्टा अर्थात ८ सय ६४ कार्यघण्टा र बढीमा ३२ पाठ्यघण्टा अर्थात १ हजार २४ कार्यघण्टा पढाउनुपर्छ ।

दुई दिने बिदा यो वर्षभरि कायम रहे विद्यालयका लागि वार्षिक ५० दिन कम हुने देखिन्छ । पाठ्यक्रम सकाउन कठिन भएपछि कतिपय पालिकाले आफ्ना विद्यालयमा आइतवार पनि कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् ।
चितवनको भरतपुरमा रहेको नारायणी नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडी कोर्स सक्न गाह्रो भएको गुनासो गर्नु हुन्छ । विद्यालयमा कक्षा १ देखि १० को पठनपाठन यो वर्ष वैशाख २१ देखि मात्र शुरु भयो, त्यसैले सुरुवात नै ढिलो थियो । त्यसमाथि आइतवारको बिदा र लगातार परेका सार्वजनिक बिदाले पढाइका दिन घटायो । ‘पाठ्यक्रम घटेको छैन, तर पढाउने दिन घटेको छ । सामान्यतः दोस्रो त्रैमासिकसम्म सबै कक्षामा ६० देखि ७० प्रतिशत कोर्स सकिने विद्यालयको तालिका छ । यसपालि एक–दुई पाठ ढिलो भएको छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार कक्षा ११ र १२ मा समस्या बढी छ । नतिजा चाँडै आएकाले यो वर्ष असारको १ गतेदेखि नै पढाइ शुरु भयो । पहिलो त्रैमासिक सकिए पनि पुसको पहिलो हप्तादेखि शुरु हुने दोस्रो त्रैमासिक परीक्षा पुसको १८–२० गतेसम्म सार्न शिक्षकहरूले प्रस्ताव गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम परीक्षाको मिति पहिल्यै तोकिसकेकाले त्यो नसर्ने उहाँको अनुमान छ । त्यसो भए अतिरिक्त कक्षा लिएर कोर्स सक्नुपर्ने बाध्यता आउँछ ।

यसले यो वर्षको नतिजामा केही न केही असर पार्ने संकेत देखिएको दुवाडीको भनाइ छ । कक्षा १० सम्म दुई–चार दिनको तलमाथि मात्र छ । कक्षा ११–१२ मा भने कठिनाइ बढ्न सक्छ ।
दुवाडीको सुझाव स्पष्ट छ, ‘हालको पाठ्यक्रम यथावत् राख्ने हो भने आइतवार पठनपाठन नै हुने गरी बिदा हटाउनु राम्रो हुन्छ । आइतवार बिदा नै राख्ने हो भने पाठ्यक्रम संकुचन गर्नैपर्छ ।’

डडेल्धुराको परशुराम नगरपालिकाको भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर सिंह थ्वाल पनि पाठ्यक्रम विकास केन्द्रले पुनर्विचार गर्न, पुरानो पाठ्यक्रम संशोधन गर्न वा विज्ञहरूबाट केर्स छोट्याउन सकिन्छ भन्ने निर्देशन दिन सुझाव दिनुहुन्छ । कुन अंश छुटाउन सकिन्छ भन्ने निर्देशन आयो भने विद्यालयले त्यही अनुसार काम गर्ने उहाँको भनाइ छ ।

यो समस्या सबैतिर एकै किसिमको भने छैन । कोशी प्रदेशकै सबैभन्दा बढी विद्यार्थी भएको मोरङको सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतको अनुभव फरक छ । उहाँका अनुसार हप्ताको छ दिन पढाइ हुने ठाउँमा पाँच दिन मात्र पढाइ हुँदा असर पर्ला भनेर विद्यालयले शुरुमै शिक्षकलाई तालिम दियो र कार्ययोजना बनायो । अहिले कक्षा १० सम्म पाठ्यक्रमको ५० प्रतिशतभन्दा बढी र कक्षा ११–१२ मा ४० प्रतिशत पूरा भइसकेको छ । यही गतिमा चल्ने हो भने शैक्षिक क्यालेन्डरभित्रै कोर्स सक्न सकिने उहाँको विश्वास छ ।

त्यसो त शनिवार र आइतवारको बिदालाई विद्यार्थीका लागि अवसर पनि हो । हालको पाठ्यक्रम धेरै हदसम्म परियोजनामा आधारित छ । धेरै विषयमा २५ प्रतिशत र कतिपयमा ५० प्रतिशतसम्म आन्तरिक मूल्याङ्कन र प्रयोगात्मक अभ्यास छ । यस्तो अवस्थामा विद्यार्थीले आफैँ अध्ययन गर्ने, सिकेको कुरा प्रयोग गर्ने र परिवार तथा समाजसँग समय बिताउने मौका पाउँछन् । यसले सिकाइलाई सघाउँछ, बाधा पार्दैन भन्ने उहाँको ठम्याइ छ । उहाँको यो दृष्टिकोण अरू केही विद्यालयका अनुभवभन्दा बेग्लै छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेका अनुसार आइतवार बिदा भएपछि झण्डै ७९ घण्टा बराबरको पाठ्यक्रम मिलान गर्नुपर्ने भएको थियो । यसका लागि केन्द्रले शुरुदेखि नै बहुविषयक परियोजना सञ्चालन गर्न सुझाएको थियो । मिल्दाजुल्दा विषयवस्तुलाई जोडेर पढाउने, जस्तै सामाजिक र भाषाका केही विषय एकै परियोजनामा समेट्ने गरी विद्यालयलाई सूचना दिइएको र अभिमुखीकरण गरिएको उहाँको भनाइ छ ।

६० प्रतिशतसम्म पनि कोर्स नसकिएको भन्ने विद्यालयका गुनासोबारे घिमिरेले आफूहरूलाई त्यसको जानकारी नभएको बताउनु भयो । उहाँका अनुसार केन्द्रले विद्यालय खुल्ने दिन र घण्टा हिसाब गरेको छ । यसअघि नियमावली संशोधन गरेर हिउँदे वा बर्खे बिदा पनि मिलान गरिएको थियो । त्यसैले ६०–७० प्रतिशत कोर्स नसकिने अवस्था नदेखिएको र विद्यालयले दिन कसरी गणना गरेको भन्नेमा निर्भर हुने उहाँको भनाइ छ ।

पश्चिमा संस्कृतिको नक्कल गरिएको र पर्याप्त अनुसन्धान नगरिएको भन्ने आलोचनामा उहाँले कसको अनुकरण भयो भन्दा पनि सिकाइ कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य विषय रहेको बताउनु भयो । कोभिडको समयमा पाठ्यक्रम संक्षेपीकरणको अभ्यास भइसकेकाले विद्यालय त्यसमा अभ्यस्त रहेको र त्यही आधारमा योजना बनाउन सकिने उहाँको भनाइ छ । आउँदो शैक्षिक सत्रमा यस्तो समस्या दोहोरिन नदिन विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन भइरहेको र त्यसको स्वीकृतिसँगै समस्या क्रमशः हल हुँदै जाने पनि उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा गाडी आवागमन बन्द

नवलपुर,मङ्सिर ४ । पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण गर्न भोलि शनिवारदेखि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिने भएको छ । जिल्ला

Nawalpurfm

परम्परा तोड्दै ९५ वर्षीय वृद्धबाट पक्ली पुल उद्घाटन

नवलपुर,मङ्सिर ४ । विकास निर्माणका संरचना राजनीतिक नेता तथा जनप्रतिनिधिबाट उद्घाटन गराउने परम्परा तोड्दै लमजुङमा ९५ वर्षीय वृद्धबाट पक्की पुल

Nawalpurfm

पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव

नवलपुर,मङ्सिर ४ । निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष

↑