ट्रम्प प्रशासनद्वारा चीन सहित १४ वटा देशमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा
नवलपुर,मंसिर १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घसहित १४ देश तथा व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।
अमेरिकाले घोषणा गरेको नयाँ शुल्क अन्तर्गत चीनबाट आयात हुने वस्तुमा अधिकतम ४० प्रतिशत, भियतनाममा ३५ प्रतिशत तथा अन्य देशमा २० देखि २५ प्रतिशतसम्म भन्सार शुल्क लाग्ने बीबीसीले जनाएको छ ।
नयाँ शुल्क आउँदो वर्ष अर्थात अर्को महिनादेखि मात्रै कार्यान्वयनमा आउने छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गएको मार्चमा अन्य देशका व्यापारिक अभ्यासबारे अनुसन्धान थालेको थियो । त्यही अनुसन्धानका आधारमा नयाँ शुल्क घोषणा गरेको हो ।
नयाँ शुल्कबाट चीन, युरोपेली सङ्घ, सिङ्गापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बङ्गलादेश, जापान र भारत प्रभावित हुनेछन् ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई दिगो मार्गमा अघि बढाउने दाबी गर्नुभएको छ । तर, अर्थशास्त्रीहरूले भन्सार शुल्कका कारण आयातित वस्तुको लागत बढ्ने, त्यसको भार उपभोक्तामा पर्ने र महँगी बढ्न सक्ने चेतावनी दिएका छन् ।
यस घोषणाले विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापारिक तनाव थप बढ्न सक्ने देखिएको छ । यसैबीच, युरोपेली आयोगले अमेरिकाको नयाँ शुल्कप्रति असहमति जनाउँदै यसबारे अध्ययन गर्ने जनाएको छ । आयोगले यसअघि भएको सहमतिअनुसार अमेरिकी भन्सार शुल्क १५ प्रतिशतमा सीमित हुनुपर्ने जनाएको छ ।
यसअघि अमेरिकाले ५ महिनाअघि सन् २०२६ जुलाईमा ६० वटा प्रमुख व्यापार साझेदार देशहरूबाट आयात हुने सामानमा १० देखि साढे १२ प्रतिशतसम्म भन्सार शुल्क लागू गरेको थियो ।

एआई कम्पनीका शेयरमा ठूलो गिरावट, विश्व शेयर बजार प्रभावित
नवलपुर,मंसिर १० । कृत्रिम बुद्धिमत्ता अर्थात (एआई) क्षेत्रमा लगानी बढ्दै जाँदा त्यसको प्रतिफल र सम्भावित जोखिमबारे लगानीकर्ताको चिन्ता बढेपछि विश्व

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा
नवलपुर,मंसिर ९ । अष्ट्रेलियामा आर्थिक मन्दी आउने जोखिम बढ्दै गएको भन्दै वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीले चेतावनी दिएको छ ।

जेन्सेन एनभिडियाको मुख्यालय फर्किए, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव
नवलपुर,मंसिर ८ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेरि कम्पनीको मुख्यालय फर्किएपछि कर्मचारीले भव्य







प्रतिकृया दिनुहोस