-->

कात्तिक ९ देखि २२ गतेसम्म नवौँ नवलपुर महोत्सव हुने, आफ्नै प्रशासनिक भवन निर्माण मुख्य उद्देश्य

Nawalpurfm

विमा मगर । नवलपुर,असोज २९ ।   नवलपुरको कावासोतीमा आगामी कात्तिक ९ गतेदेखि २२ गतेसम्म नवौँ नवलपुर महोत्सव–२०८३ आयोजना हुने भएको छ। ‘पर्यटन, कृषि, उद्योगमा सहभागिता, समृद्ध नवलपुरका लागि नवौँ महोत्सवको उपयोगिता’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

नवलपुर उद्योग वाणिज्य संघ, कावासोतीको आयोजनामा कावासोती नगरपालिका–२ स्थित नवदुर्गा खेलमैदान, भाटटोलामा महोत्सव सञ्चालन हुनेछ। संघको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने मुख्य उद्देश्यसहित आयोजना गर्न लागिएको महोत्सवले जिल्लाको आर्थिक, औद्योगिक, कृषि तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष बुद्धिसागर पोखरेलले आफ्नै प्रशासनिक भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउनुका साथै जिल्लाको समग्र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

उहाँका अनुसार यस वर्षको महोत्सवमा नयाँपन र फरक आकर्षण समेट्ने प्रयास गरिएको छ। महोत्सवको प्रमुख आकर्षणका रूपमा जिल्लाका आठवटै पालिकाको पहिचान झल्किने आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ। त्यस्तै, ‘नवलपुरमा गैँडा हेर्न मात्रै होइन, गन्नका लागि पर्यटक आउँछन्’ भन्ने सन्देश प्रवाह गर्दै जिल्लाको पर्यटन सम्भावनालाई उजागर गरिनेछ। नवलपुर लगानी सम्मेलनको प्रचारप्रसार, स्थानीय भेषभूषा तथा संस्कृतिको प्रवर्द्धन र जिल्लाका ठूला होटलहरूमा उपलब्ध विशेष अफरबारे जानकारी गराउने कार्यक्रमसमेत महोत्सवमा समावेश गरिने अध्यक्ष पोख्रेलले बताउनुभयो।

महोत्सवमा जिल्लामा उत्पादित कृषि उपजका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी गरिनेछ। आदिवासी जनजाति तथा विभिन्न जातजातिका मौलिक भेषभूषा, कला, संस्कृति, परम्परा र स्थानीय खानाका परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिने आयोजकले जनाएको छ।

त्यसैगरी, दुग्धजन्य पदार्थ तथा प्रविधिको प्रदर्शनी, हस्तकलाका सामग्री, बालबालिकाका लागि बाल उद्यान र जिल्लाको पहिचान झल्काउने विभिन्न झाँकीसहितको बृहत् शोभायात्रा महोत्सवका अन्य आकर्षण रहनेछन्।

मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रमअन्तर्गत मिस नवलपुर फेसन प्रतियोगिता, देउसीभैलो प्रतियोगिता, ममी डान्स प्रतियोगिता तथा आमा समूहबीच डोरी तान्ने प्रतियोगितासमेत सञ्चालन गरिनेछ।

महोत्सवमा व्यावसायिक, कृषि, अटो तथा खानाका परिकारसम्बन्धी स्टलहरू रहनेछन्। आयोजकका अनुसार महोत्सवमा १५० वटा व्यावसायिक स्टल, १० वटा कृषि स्टल, १० वटा अटो स्टल र १५ वटा खाना तथा खाजाका स्टल राखिनेछन्। यसबाट स्थानीय उत्पादनको बजारीकरण, व्यवसाय विस्तार तथा उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकले महोत्सवमा प्रत्यक्ष रूपमा ६० हजारदेखि ७० हजारसम्म दर्शक सहभागी हुने अनुमान गरेको छ। विभिन्न सञ्चारमाध्यममार्फत पाँच करोड दर्शकसम्म महोत्सवको गतिविधि पुग्ने अनुमान गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।

महोत्सवबाट एक करोड ५० लाख रुपैयाँ आम्दानी हुने र एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। अनुमानित आम्दानी र खर्चअनुसार ४० लाख रुपैयाँ बचत हुने देखिएको छ। उक्त बचतसहित महोत्सवबाट प्राप्त हुने स्रोतलाई संघको प्रशासनिक भवन निर्माणको उद्देश्यसँग जोडेर अघि बढाइने आयोजकको लक्ष्य रहेको छ।

महोत्सवले नवलपुरको पर्यटन प्रवर्द्धन, कृषि तथा औद्योगिक उत्पादनको बजारीकरण, स्थानीय कला–संस्कृतिको संरक्षण र निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव भविश्वर पाण्डे, नवलपुर पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रीराम सिग्देललगायत जिल्लामा क्रियाशील पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

शिव सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा सम्पन्न

विमा गाहा मगर । नवलपुर,असोज २८। शिव सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा बुधबार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ। संस्थाका

Nawalpurfm

मध्यविन्दुमा विपद् व्यवस्थापन समिति बैठक, स्वयंसेवक ब्युरो गठनसम्बन्धी मस्यौदामाथि छलफल

नवलपुर, असोज २८ । नवलपुरको मध्यविन्दु नगरपालिकामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा विपद् व्यवस्थापनलाई प्रभावकारी

Nawalpurfm

एकीकृत दुग्ध विकास सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न 

विमा गाहा मगर । नवलपुर, असोज २६ । एकीकृत दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सोमबार नेपाल आमा समूहको सभाहलमा सम्पन्न भएको छ।

↑