नवरात्रिमा देवीथान द्वारेढुङ्गामा तीनदिने भजन कन्सर्ट हुने
नवलपुर,असोज २३। नवलपुरको कावासोती नगरपालिका–१६ पिठौलीस्थित ऐतिहासिक धार्मिकस्थल देवीथान द्वारेढुङ्गा मन्दिरमा नवरात्रिको अवसर पारेर तीनदिने ‘नवरात्रि विशेष भजन कन्सर्ट–२०८३’ आयोजना हुने भएको छ।
मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्वको संरक्षण, मौलिक भजन तथा कलाको प्रवर्द्धन र नयाँ पुस्तालाई सनातन धर्म, संस्कार र परम्परासँग जोड्ने उद्देश्यले असोज ३१ देखि कात्तिक २ गतेसम्म कार्यक्रम सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार ‘भक्ति र संगीतको संगम, संस्कार र सिर्जनाको संगम, परम्परा र पुस्ताको संगम’ भन्ने मूल भावसहित आयोजना हुने कार्यक्रमले परम्परागत भजनलाई आधुनिक सांगीतिक प्रस्तुतिसँग जोड्नेछ। धार्मिक अनुष्ठानसँगै स्थानीय कलाकार, भजन समूह तथा युवापुस्तालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरिनेछ।
कार्यक्रमको पहिलो दिन फूलपातीका अवसरमा बिहान पिठौलीस्थित लक्ष्मीनारायण मन्दिरदेखि देवीथान द्वारेढुङ्गासम्म धार्मिक शोभायात्रा निकालिनेछ। त्यसपछि पूजापाठ, ब्राह्मण वरण, भजन–कीर्तन तथा देवी भागवत कथा वाचनलगायतका कार्यक्रम हुनेछन्। साँझ फूलपाती भित्र्याउने धार्मिक विधिपछि भजन कन्सर्ट, देवी महात्म्य र धार्मिक झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ।
त्यसैगरी, कात्तिक १ गते महाअष्टमीका दिन नित्य पूजापाठ, देवी भागवत कथा वाचन तथा आरतीपछि साँझदेखि भजन–कीर्तनका कार्यक्रम सञ्चालन हुनेछन्। यस दिन देवी महात्म्य, शिव ताण्डव र कालरात्रि विशेष झाँकी मुख्य आकर्षणका रूपमा रहनेछन्।
कार्यक्रमको अन्तिम दिन कात्तिक २ गते देवी स्तुति, सामूहिक भजन, स्थानीय कलाकार तथा युवापुस्ताका सांस्कृतिक प्रस्तुति र देवी भागवत कथा वाचन गरिनेछ। साँझ विशेष भजन कन्सर्टसहित औपचारिक समापन कार्यक्रम आयोजना गरिनेछ। सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने संस्था, भजन समूह, धार्मिक व्यक्तित्व, कलाकार तथा स्वयंसेवकलाई सम्मान गर्ने तयारीसमेत गरिएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सागर गुरुङका अनुसार नवरात्रिको अवसरमा धार्मिक गतिविधिसँगै भजन कन्सर्ट आयोजना गरी मन्दिरको महत्त्व र पहिचानलाई थप उजागर गर्ने प्रयास गरिएको हो।
समितिका सचिव समिर लामिछानेले पुरानो देवी मन्दिरको संरक्षण गर्नुका साथै ज्येष्ठ पुस्तामा रहेको धार्मिक तथा सांस्कृतिक ज्ञानलाई युवापुस्तासम्म पुर्याउने र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
आयोजकले यस कार्यक्रमलाई धार्मिक अनुष्ठानमा सीमित नराखी संस्कृति संरक्षण, युवा सहभागिता र सामुदायिक एकता अभिवृद्धिको अभियानका रूपमा अघि बढाउने लक्ष्य लिएको छ। कार्यक्रमबाट देवीथान द्वारेढुङ्गा मन्दिरको धार्मिक पहिचान प्रवर्द्धन हुनुका साथै स्थानीय कला, संस्कृति र धार्मिक पर्यटनको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

कावासोतीको खरकट्टा जङ्गलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपुर,असोज २४ । पूर्वपश्चिम राजमार्गको नवलपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा
.2026-10-08-10-31-03.jpeg)
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान
नवलपुर,असोज २२ । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी–नेपाल) नेपाल अन्तर्गत निर्माण भइरहेको ४०० केभी क्षमताको नेपाल–भारत सीमापार प्रसारण लाइन

मध्यविन्दु नगरपालिकामा गोकर्ण पन्थीले सम्हाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
नवलपुर, असोज २० । मध्यविन्दु नगरपालिकाको प्रशासनिक नेतृत्वमा गोकर्ण पन्थी आउनुभएको छ। पन्थीले असोज १९ गतेदेखि नगरपालिकाको प्रमुख प्रशासकीय



.2026-10-03-07-49-59.jpeg)

प्रतिकृया दिनुहोस