-->

रोटरी क्लब कावासोतिले निःशुल्क मोतियाबिन्दु अपरेशन शिविर सञ्चालन गर्ने

Nawalpurfm

नवलपुर,कात्तिक ९ । रोटरी क्लब कावासोतिले यस वर्ष पनि समुदायका दृष्टिबिहीन तथा दृष्टिदोष भएका नागरिकहरूका लागि निःशुल्क मोतियाबिन्दु अपरेशन शिविर सञ्चालन गर्ने भएको छ। सेवा, सहकार्य र मानवीयताको मूल मन्त्रका साथ स्थापित क्लबले विगत सात वर्षदेखि सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

क्लबका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेलका अनुसार रोटरी क्लब कावासोतीले आफ्नो स्थापना कालदेखि नै “सेवा नै धर्म हो” भन्ने मूल उद्देश्य लिएर काम गर्दै आएको हो। उनका अनुसार क्लबले हालसम्म करिब २५ हजारभन्दा बढी मानिसको निःशुल्क आँखा परीक्षण तथा तीन हजार जनाभन्दा बढीको मोतियाबिन्दु अपरेशन गराइसकेको छ।
पोखरेलले भने, “हाम्रो क्लबले स्थापना देखिनै सेवामूलक कामलाई प्राथमिकता दिएको छ। मोतियाबिन्दु अपरेशन हाम्रो प्रमुख सेवा कार्यक्रमका रूपमा निरन्तर सञ्चालन हुँदै आएको छ, र यसले धेरै नागरिकको दृष्टि पुनःस्थापना गर्न सफल भएको छ।”


यस वर्ष पनि क्लबले गाउँ–गाउँमा पुगेर आँखा परीक्षण शिविर सञ्चालन गर्न सुरु गरेको मध्यबिन्दु आँखा अस्पतालका प्राविधिक तथा रोटेरियन प्रदीप भट्टराईले जानकारी दिए। उनका अनुसार नवलपुर जिल्लामा मोतियाबिन्दुका बिरामीको संख्या उच्च रहेको छ।
“हामीले अपरेशन गर्नै पर्ने अवस्थाका बिरामी मात्र छनोट गर्दै आएका छौँ,” भट्टराईले भने, “तर अझै पनि धेरै मानिस मोतियाबिन्दुका कारण दृष्टिबिहीन हुँदैछन्। तीमध्ये धेरैजना शिविरसम्म आउन नसक्ने अवस्थामा छन्, त्यसका लागि स्थानीय पालिकाले पनि विशेष पहल र सहयोग गर्न जरुरी छ।”

रोटरी क्लब कावासोतीका अध्यक्ष नारायण प्रसाद न्यौपानेका अनुसार यस वर्षको शिविरमार्फत करिब तीन सय बिरामीको उपचार तथा अपरेशन गर्ने लक्ष्य लिइएको छ। उनले भने, “हामीले गैडाकोट, देवचुली, कावासोती, हुप्सेकोट र मध्यबिन्दुका विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन गरेर अपरेशन गर्नै पर्ने बिरामीको पहिचान गर्दैछौँ।”

शिविर संयोजक शिव गिरीका अनुसार मोतियाबिन्दु अपरेशन कार्यक्रम मध्यबिन्दु प्रादेशिक अस्पतालमा कात्तिक ११, १२ र १३ गते सञ्चालन हुनेछ। अपरेशन तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक र प्राविधिकको सहयोगमा गरिनेछ।
उनका अनुसार अपरेशन शिविरमा दृष्टिबिहीन र दृष्टिदोष भएका व्यक्तिहरूलाई निःशुल्क औषधि, खाना, बसोबास र उपचार सेवा प्रदान गरिनेछ।


क्लबका पूर्व अध्यक्ष हरिहर अधिकारीले भने, “रोटरी क्लब कावासोतीले आफ्नो सुरुवातदेखि नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ। विशेष गरी मोतियाबिन्दु अपरेशनलाई हाम्रो प्रमुख सेवा अभियानका रूपमा लिएका छौँ। अपरेशनपछि पनि बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण र निगरानी क्लबकै पहलमा गरिन्छ।”

यस शिविरमा रोट्र्याक क्लब कावासोती, मध्यबिन्दु आँखा अस्पताल, स्थानीय स्वास्थ्य संस्था, विभिन्न संघ–संस्था र सामाजिक अभियन्ताहरूले समेत सहकार्य गर्ने भएका छन्। क्लबका अनुसार स्थानीय निकायहरू, विद्यालय, समुदाय र सञ्चार माध्यमहरूसँग समन्वय गर्दै “दृष्टि सबको अधिकार” भन्ने नारासहित यो अभियान सञ्चालन गरिँदैछ।

अध्यक्ष न्यौपानेले थपे, “हामीले ग्रामीण बस्तीका दृष्टिबिहीन र दृष्टिदोष भएका नागरिकसम्म पुगेर उनीहरूलाई पुनः दृष्टि दिलाउने लक्ष्य लिएका छौँ। यो कार्यक्रमले समुदायमा दृष्टि सम्बन्धी सचेतना बढाउने र रोकथाम गर्न सकिने आँखाका समस्याबारे जनतालाई जानकारी दिने उद्देश्य समेत राखेको छ।”


रोटरी क्लब कावासोतीले विगतमा पनि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, स्वच्छता, र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ। क्लबले समुदायका विभिन्न विद्यालयहरूमा स्वास्थ्य सचेतना कार्यक्रम, हातेपम्प र स्वच्छ पानी वितरण, छात्रवृत्ति सहयोग, र महिला सशक्तिकरणका लागि पनि कार्यक्रमहरू सञ्चालन गरेको छ।

मोतियाबिन्दु अपरेशन शिविरमार्फत रोटरी क्लब कावासोतीले यस वर्ष पनि दृष्टिहीन नागरिकहरूको जीवन उज्यालो बनाउने लक्ष्य लिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे प्रशिक्षण

नवलपुर, असोज ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरले मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी

Nawalpurfm

विनयी त्रिवेणीमा सिमेन्ट बोकेको ट्रकमा आगलागी

नवलपुर, असोज ६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, घ्यूखोलास्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ। मंगलबार

Nawalpurfm

नवलपुरमा भारी वर्षा र बाढीको जोखिम, जिल्ला प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

नवलपुर, असोज ६ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आगामी केही दिन भारी वर्षा, बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै जिल्लावासीलाई उच्च