-->

नवलपुरको पेलेगाबाट निस्कीरहेको धुंवा बिशाक्त रहेको भनाई 

Nawalpurfm

नारायण शर्मा । नवलपुर, असोज १ । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको बाक्लो धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका विज्ञहरूको टोलीले बुधबार धुवाँ निस्किरहेको स्थानमै पुगेर गरेको प्रारम्भिक परीक्षणबाट यस्तो तथ्य खुलेको हो।

खानी तथा भूगर्भ विभागका विज्ञ प्रकाश लुइँटेलको नेतृत्वमा पुगेको टोलीले धुवाँ निस्किरहेको क्षेत्रको स्थलगत निरीक्षण तथा प्रारम्भिक जाँच गरेको थियो। टोलीमा खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण विभाग र नास्टका विशेषज्ञहरू सहभागी थिए।

खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार पेलेगा क्षेत्रमा गन्धक, पानी तथा कार्बनयुक्त चट्टानबीच हुने रासायनिक प्रतिक्रियाका कारण ग्यास उत्पन्न भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि ग्यासको वास्तविक प्रकृति र स्रोतबारे थप विस्तृत अनुसन्धान आवश्यक रहेको उहाँले बताउनुभयो।

चिकित्सक डा। नरनाथ पाण्डेका अनुसार कार्बन मोनोअक्साइड विषाक्त ग्यास भएकाले यसको प्रत्यक्ष सम्पर्क मानव स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ। ग्यासको उच्च मात्रा श्वासप्रश्वासमार्फत शरीरमा प्रवेश गर्दा रगतमा अक्सिजनको मात्रा घटाउन सक्ने भएकाले धुवाँ निस्किरहेको क्षेत्रको नजिक जान जोखिमपूर्ण हुने उहाँको भनाइ छ। सरकारले यसको नियन्त्रण तथा स्थानीय बासिन्दाको सुरक्षाका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने उहाँले बताउनुभयो।

विशेषज्ञहरूको प्रारम्भिक निरीक्षणका क्रममा कार्बनयुक्त सेल भएको चट्टानबाट धुवाँ निस्किरहेको पाइएको छ। स्थानीय बुढापाकाहरूका अनुसार पेलेगा डाँडाको विभिन्न स्थानबाट ६०–७० वर्षअघिदेखि नै समय–समयमा धुवाँ निस्कने गरेको थियो। तर यसपटक तुलनात्मक रूपमा बाक्लो धुवाँ निस्किएपछि उक्त क्षेत्र पुनः चर्चामा आएको हो।

धुवाँ निस्किरहेको स्थानबाट करिब २० मिनेटको दूरीमा पेलेगा गाउँ रहेको छ। त्यस आसपास भडारी र दमार गाउँसमेत रहेका छन्। यी क्षेत्रमा मगर समुदायको बाक्लो बस्ती रहेको छ। त्यसैले ग्यासको प्रभावबाट स्थानीय बासिन्दाको स्वास्थ्यमा जोखिम हुन सक्ने भन्दै थप सावधानी अपनाउनुपर्ने देखिएको छ।

पेलेगा डाँडा धौवादी फलामखानी रहेको क्षेत्रभन्दा करिब तीन किलोमिटर पश्चिममा पर्छ। हुप्सेकोट गाउँपालिका तनहुँ र पाल्पासँग जोडिएको क्षेत्रमा रहेको छ भने गाउँपालिकाभित्रै धौवादी फलामखानीसमेत रहेको छ।

पेलेगा डाँडाबाट ग्यास तथा धुवाँ निस्किएपछि हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग सम्पर्क गरी प्राविधिक जनशक्ति पठाएर अध्ययन तथा आवश्यक नियन्त्रणका उपाय अघि बढाउन आग्रह गर्नुभएको थियो।

यस क्षेत्रका सांसद राजन गौतमले पनि गत शुक्रबार संसद्मा पेलेगा डाँडाको अवस्थाबारे कुरा उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। उहाँका अनुसार संसद्मा विषय उठेपछि विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समेत यस विषयमा चासो देखाउनुभएको थियो।

गत सोमबार खानी तथा भूगर्भ विभाग पुगेका सांसद राजन गौतम र मनिष खनालले धुवाँ निस्किरहेको क्षेत्रको तत्काल अध्ययन गर्न विशेषज्ञ टोली पठाउन आग्रह गर्नुभएको थियो। त्यसपछि खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण विभाग र नास्टका विशेषज्ञ सम्मिलित टोली बुधबार पेलेगा डाँडा पुगेको हो।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले धुवाँ तथा ग्यास निस्कने क्रम तत्काल नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्न सरकारसँग माग गर्नुभएको छ। नजिकका बस्तीमा जोखिम देखिए आवश्यकताअनुसार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नसमेत उहाँले सरकारसँग आग्रह गर्नुभएको छ।

“यस क्षेत्रका नागरिकको सुरक्षा सबैभन्दा पहिलो प्राथमिकता हो,” अध्यक्ष पाण्डेले भन्नुभयो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरको स्वास्थ्य अवस्था, चुनौती र आगामी योजनाबारे पत्रकारसँग अन्तरक्रिया

विमा गाहा मगर । नवलपुर,भदौ ३१ । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती तथा आगामी योजनाबारे

Nawalpurfm

रसुवा बाढीपीडितका लागि प्याब्सन नवलपुरको ५० लाख एक सय ११ सहयोग

नवलपुर,भदौ ३० । देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी विद्यालयहरूको

Nawalpurfm

विनयी त्रिवेणीमा खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

नवलपुर,भदौ ३० । विनयी त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार