नेपाल शान्ति माविको शैक्षिक विकासका लागि हुप्सेकोटमा नौदिने महायज्ञ
नवलपुर,कार्तिक २२ । विद्यालयको स्रोतसाधन विस्तार गर्दै विद्यार्थीलाई प्रविधि र व्यावहारिक सीपसँग जोड्ने उद्देश्यले हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा विशेष शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिने भएको छ।
नेपाल शान्ति माध्यमिक विद्यालय र हुप्सेकोट प्राविधिक शिक्षालयले संयुक्त रूपमा मङ्सिर १ देखि ९ गतेसम्म श्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी गरेका छन्। महायज्ञबाट संकलित सहयोग विद्यालयको अक्षय कोष निर्माण तथा शैक्षिक र भौतिक संरचनाको स्तरोन्नतिमा परिचालन गर्ने योजना रहेको छ।
विद्यालयको भविष्यलाई आर्थिक रूपमा सबल बनाउनुका साथै शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम अघि सारिएको मूल समारोह समितिका संयोजक एवं नेपाल शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त पाण्डेले बताउनुभयो। पाण्डेका अनुसार यस अभियानले शैक्षिक संस्थाको विकासमा दीर्घकालीन आधार तयार गर्ने अपेक्षा गरिएको छ।
शिक्षालाई समयसापेक्ष बनाउन प्राविधिक ज्ञान र प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिनुपर्ने हुप्सेकोट प्राविधिक शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर कार्कीको भनाइ छ। उहाँले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने सीपयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले नेपाल शान्ति माध्यमिक विद्यालयसँग संयुक्त पहल गरिएको जानकारी दिनुभयो।
नौ दिनसम्म चल्ने महायज्ञमा पण्डित बासुदेव घिमिरे र आचार्य शिवशक्ति दासजी महाराजबाट श्रीमद्भागवतको संगीतमय कथा प्रस्तुत गरिनेछ। धार्मिक प्रवचनसँगै भजनकीर्तन, शान्तिकलश पूजन र विभिन्न धार्मिक अनुष्ठान पनि सञ्चालन हुने पण्डित घिमिरेले जानकारी दिनुभयो।
महोत्सवको पहिलो दिन मङ्सिर १ गते बिहान शोभायात्रासहित कलश यात्रा निकालिने कार्यक्रम छ। त्यसपछि दिउँसो औपचारिक उद्घाटन गरी पूजा तथा कथावाचन प्रारम्भ गरिनेछ। महायज्ञका बाँकी दिनमा बिहान हवन, पूजन र पाठ परायणका कार्यक्रम हुनेछन् भने मध्याह्नदेखि अपराह्नसम्म भागवत कथा वाचन गरिनेछ। साँझको समयमा पनि विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम राखिएको छ।
यस महोत्सवमा धार्मिक गतिविधिसँगै सांस्कृतिक मनोरञ्जनलाई समेत स्थान दिइएको छ। राष्ट्रिय कलाकारहरूको प्रस्तुति र देवलीला झाँकीका अतिरिक्त महाआरती, १००८ शालिग्राम दर्शन, नवग्रह शक्ति अनुष्ठान, कालसर्प योगसम्बन्धी पूजा, महातुलादान तथा ज्योतिषीय परामर्शको व्यवस्था गरिने आयोजकले जनाएको छ।
विद्यालयको शैक्षिक उन्नतिका लागि समुदायको सामूहिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आयोजकले महायज्ञमा उपस्थित भई आर्थिक तथा नैतिक सहयोग गर्न स्थानीय समुदाय, अभिभावक, पूर्वविद्यार्थी र शिक्षाप्रेमीहरूलाई आग्रह गरेको छ।

विनयी त्रिवेणीमा नवौँ राष्ट्रपति रनिङ शिल्ड तथा पहिलो आधारभूत तह खेलकुद प्रतियोगिता सुरु
नवलपुर, कात्तिक १९ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा नवौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम आधारभूत तह खेलकुद

देवचुलीमा कौडा खेलिरहेको अवस्थामा १४ जना पक्राउ, ३ लाखभन्दा बढी रकम बरामद
नवलपुर, कात्तिक १९ । नवलपुरको देवचुली नगरपालिका–१७ कुलेनीमा कौडा खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विमा गाहा मगर । नवलपुर, कात्तिक १९ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रेरित गर्ने उद्देश्यले




प्रतिकृया दिनुहोस