-->

मौसमी विपद्का कारण गण्डकीमा २३ जनाको मृत्यु, १५ सम्पर्कविहीन

Nawalpurfm

नवलपुर, असोज १३ । यही असोज ८ गतेबाट ११ गतेसम्मको मौसमी विपद्का कारण गण्डकी प्रदेशका सबै जिल्ला प्रभावित भए । गण्डकीमा ८ गते बिहीबारबाट १२ गते सोमबारसम्म बाढी, पहिरो र हिमपहिरोमा परी २३ जनाको मृत्यु भयो ।

बाढी, पहिरोमा परी बागलुङमा १२ जना, म्याग्दीमा सात र मनाङको हिमपहिरोमा परी चार जनाको ज्यान गएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीका सचिव तीर्थराज चिलुवालले यो अवधिमा १५ जना सम्पर्कविहीन र नौ जना घाइते भएको जानकारी दिनुभयो ।

बागलुङमा पहिरोले पुरिएर ज्यान गुमाउनेमा ताराखोला–५, धस्मरका ५१ वर्षीय मनबहादुर रोका र ५५ वर्षीय दिलबहादुर पुन हुनुहुन्छ । तमानखोला गाउँपालिका वडा नम्बर ३ धर्नाकपुकमा घर पहिरोले पुरिँदा ८३ वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमादेवी घर्तीको ज्यान गएको छ । 

सोही पालिकाको वडा नम्बर ४, सन्तारका ५२ वर्षीय हस्तवीर विक र ६१ वर्षीय उदुसिरा विकको पनि पहिरोमा परिएर ज्यान गएको छ । बागलुङकै निसिखोलाका पाँच जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो ।

आइतबार आएको पहिरोले घर पुरिँदा निसिखोलाकै वडा नम्बर ३, पञ्चीखरियाका ३६ वर्षीय श्यामकुमारी विक, १३ वर्षीय मनोज विक र आठ वर्षका मुकेश विक र तीन वर्षका निशान विकको ज्यान गएको हो । 

यसैगरी, निसिखोला–६, सेलवाङका ५० वर्षीय सुर्जेबहादुर घर्तीमगरको पनि पहिरोले पुरिएर ज्यान गएको छ । बागलुङकै पहिरोमा परी म्याग्दीको मालिका–२ की ७९ वर्षीया नरमाया पुनको पनि मृत्यु भएको छ ।

यता, म्याग्दीमा आइतबार पहिरोले पुरिँदा मालिका गाउँपालिकामा दुई जना र अन्नपूर्ण गाउँपालिकामा पाँच जनाको ज्यान गएको थियो । मालिका–३, रुमागाउँका ३१ वर्षीय चिरन पुन र २८ वर्षीय देवबहादुर पुनको मृत्यु भएको हो ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ फगामका ५४ वर्षीय योगमाया पाइजा र ७५ वर्षीय शिलकुमारी पाइजा, सोही पालिकाको वडा नम्बर ५ पाउदुरका ५ वर्षीया जेनी पुर्जा र ७५ वर्षीय ओमबहादुर तिलिजाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । 

म्याग्दीकै अन्नपूर्ण गाउँपालिकामा घर पहिरोले पुरिँदा ज्यान गुमाउनेमा अन्नपूर्ण–८, काफलडाँडा, खर्कगाउँका १९ वर्षीय सविन गर्बुजाको पनि मृत्यु भएको छ ।

आइतबार बिहान हिम्लुङ हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका चार जनाको शव भेटिएको छ ।

हिमपहिरोमा परी ज्यान गुमाएका सङ्खुवासभाको भोटेखोला गाउँपालिका वडा नम्बर ३ का ५२ वर्षीय छेदी भोटे र ३१ वर्षीय पासाङ भोटे, गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ९ का ४५ वर्षीय घनश्याम राईको शव भेटिएको हो ।

सो हिमपहिरोमा अझै १२ सम्पर्कविहीन हुनुहुन्छ भने ११ जना हिम्लुङ आधारशिविरबाट सकुशल फर्किनुभएको छ । हिमपहिरोले आरोहीलाई पुरेको ठाउँ हिम्लुङ आधार शिविरमा १५ फिटभन्दा बाक्लो हिउँ जमेकाले उद्धार कार्य स्थगित गरिएको छ । त्यहाँ पुग्न मनाङ सदरमुकाम चामेबाट तीन दिन पैदल हिड्नुपर्छ । 

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बाक्लो हिउँका कारण उद्धार कार्य स्थगित भएको बताउनुभयो । मनाङकै चामेमा थुनिएको मस्र्याङ्दी नदी एस्काभेटर लगाएर खोल्न थालिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, “आज ९मङ्गलबार० बिहानबाट नदी खोल्न काम थालेका छौँ । तालको पानी केही हदमा बग्न पनि थालेको छ ।”

असोज ८ गतेपछिको मौसमी विपद्मा मनाङमा १२ जना, म्याग्दीमा दुई जना र बागलुङमा एक जना गरी १५ जना सम्पर्कविहीन हुनुहुन्छ ।

बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ४, सन्तारकी ५२ वर्षीय पुनसरा विक, म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३, भकिम्लीकी ३६ वर्षीया कुमारी विक, अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८, काफलडाँडा खर्कगाउँका २१ वर्षीय मनोज गर्बुजा घर पहिरोले पुरिँदा सम्पर्कमा हुनुहुन्न ।

यो अवधिमा तनहुँमा एक, लमजुङमा दुई, पर्वतमा एक र बागलुङमा पाँच गरी नौ जना घाइते भएको प्रहरीको अभिलेख छ । यो अवधिमा एक हजार आठ सय २५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पछिल्लो १२ घण्टामा लमजुङको फलेनीमा ८० मिलिमिटर वर्षा मापन

नवलपुर,असोज १७ । गएराति लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । लमजुङको फलेनी वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा ८० मिलिमिटर

Nawalpurfm

पहिरो र नदी कटानले मुस्ताङ ३ दिनदेखि सम्पर्कविच्छेद

नवलपुर, असोज १४ । अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि सम्पर्कविच्छेद भएको छ । म्याग्दीको दानामा रहेको

Nawalpurfm

बागलुङमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या १२ पुग्यो

नवलपुर, असोज १३ । बागलुङमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ । गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका

↑