-->

फुड स्टलमार्फत भोटेकोशीका विपद् प्रभावितलाई सहयोग जुटाउँदै आरम्भ एकेडेमी

Nawalpurfm

विमा गाहा मगर । नवलपुर, भदौ २६। रसुवाको भोटेकोशी क्षेत्रमा विपद्का कारण प्रभावित भएका परिवारको सहयोगका लागि कावासोती–३ मा रहेको आरम्भ एकेडेमीले फुड स्टल कार्यक्रम आयोजना गरेको छ। विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रकारका खानाका परिकार तयार गरी बिक्री गरेका थिए।

कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले आ–आफ्नो समूहमा विभिन्न परिकार तयार गरेका थिए। विद्यार्थीहरूले आफैंले तयार गरेका खानाका परिकार विद्यालय परिसरमा स्टल राखी बिक्री गरेका थिए भने विद्यालयका अन्य विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले समेत ती परिकार खरिद गरी कार्यक्रमलाई साथ दिएको विद्यालयको कार्यक्रम संयोजक सुप्रिय मान्नधरले जानकारी दिनुभयो।

खानाका परिकार बिक्रीबाट संकलन भएको रकम रसुवाको भोटेकोशी क्षेत्रमा विपद्का कारण प्रभावित भएका परिवारलाई सहयोग गर्ने उद्देश्य रहेको विद्यालयले जनाएको छ। प्राकृतिक विपद् तथा अन्य कारणले प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थीहरूलाई सानै उमेरदेखि सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना विकास गराउने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको विद्यालयको भनाइ छ।

विद्यालयका अनुसार कार्यक्रमको उद्देश्य रसुवाको भोटेकोशी क्षेत्रमा विपद्का कारण प्रभावित भएकालाई  आर्थिक सहयोग जुटाउनुमा मात्र सीमित छैन। विद्यार्थीहरूलाई खानाका परिकार तयार गर्ने, आवश्यक सामग्रीको व्यवस्थापन तथा खरिद गर्ने, मूल्य निर्धारण गर्ने, सामान बिक्री गर्ने, ग्राहकसँग व्यवहार गर्ने र आम्दानी–खर्चको हिसाब राख्ने जस्ता व्यावहारिक सीप सिकाउनु पनि कार्यक्रमको महत्वपूर्ण उद्देश्य हो।

फुड स्टल सञ्चालनका क्रममा विद्यार्थीहरूले समूहमा काम गर्ने, जिम्मेवारी बाँडफाँट गर्ने, समय व्यवस्थापन गर्ने तथा आर्थिक कारोबारलाई व्यवस्थित गर्ने विषयमा समेत प्रत्यक्ष अनुभव हासिल गरेका थिए। कक्षाकोठामा पढाइने सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै विद्यार्थीहरूले व्यापार तथा उद्यमशीलताको प्रारम्भिक अभ्यास गर्ने अवसरसमेत पाएका थिए।

कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मनिर्भरता, नेतृत्व क्षमता, सहकार्य र सामाजिक सेवाप्रतिको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयको विश्वास छ। विद्यार्थीहरूले आफ्नै मेहनतबाट तयार गरेका परिकार बिक्री गरेर संकलित रकम सामाजिक सेवामा प्रयोग हुने भएपछि उनीहरूमा सहयोग र जिम्मेवारीको भावना अझ बढेको विद्यालयले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक तथा कर्मचारी, विद्यार्थी, अभिभावक र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहभागी सबैप्रति विद्यालयले धन्यवाद तथा आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि विद्यार्थीको व्यावहारिक ज्ञान, सीप विकास र सामाजिक उत्तरदायित्वलाई जोड दिने यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने विद्यालयले जनाएको छ।

आरम्भ एकेडेमीको उक्त पहलले विद्यार्थीलाई पढाइसँगै सीप, उद्यमशीलता र मानवीय सेवाको पाठ व्यवहारमै सिकाउने प्रयासका रूपमा सकारात्मक सन्देश दिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरको पेलेगाबाट निस्कीरहेको धुंवा बिशाक्त रहेको भनाई 

नारायण शर्मा । नवलपुर, असोज १ । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको बाक्लो धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको

Nawalpurfm

नवलपुरको स्वास्थ्य अवस्था, चुनौती र आगामी योजनाबारे पत्रकारसँग अन्तरक्रिया

विमा गाहा मगर । नवलपुर,भदौ ३१ । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती तथा आगामी योजनाबारे

Nawalpurfm

रसुवा बाढीपीडितका लागि प्याब्सन नवलपुरको ५० लाख एक सय ११ सहयोग

नवलपुर,भदौ ३० । देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी विद्यालयहरूको