-->

नवलपुरसहित गण्डकीका सबै जिल्लामा नेकपाको दुईमहिने जागरण अभियान सञ्चालन 

Nawalpurfm

विमा गाहा मगर । नवलपुर, कात्तिक १५ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन सुदृढीकरण, पार्टी एकता मजबुत बनाउने र आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लामा दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।

पार्टीको केन्द्रीय योजनाअनुसार कात्तिकदेखि मंसिरसम्म सञ्चालन हुने अभियानको नवलपुरमा नेकपाका नेता दिनानाथ शर्माले शुभारम्भ गर्नुभएको हो । अभियान जिल्लाका आठवटै स्थानीय तह र ५२ वटै वडासम्म विस्तार गरिने नेकपा नवलपुरले जनाएको छ ।

अभियान शुभारम्भका क्रममा नेता शर्माले लोकतन्त्रको संरक्षण, सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यम लोकतन्त्रको वाहक शक्ति भएको उल्लेख गर्दै सञ्चार क्षेत्रको सहयोग र खबरदारीकै कारण मुलुकमा विभिन्न परिवर्तन सम्भव भएको धारणा राख्नुभयो । लोकतान्त्रिक व्यवस्था बलियो बनाउन सञ्चारमाध्यमले जनताका आवाज, समस्या र सरोकारलाई निरन्तर उजागर गर्नुपर्ने उहाँको भनाइ थियो ।

अभियानले पार्टीको आन्तरिक संगठन व्यवस्थापनसँगै जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य लिएको नेकपाका नवलपुर इन्चार्ज मित्रशरण शर्मा विहानीले जानकारी दिनुभयो । उहाँले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण, पार्टी शुद्धीकरण, कार्यालय व्यवस्थापन, संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने र सबै तहमा एकता भेला तथा बैठक सञ्चालन अभियानका प्रमुख कार्यक्रम रहेको बताउनुभयो।

त्यसैगरी, जिम्मेवारीअनुसार नेता तथा कार्यकर्ताको कार्यविभाजन प्रभावकारी बनाउने र विभिन्न कारणले पार्टी गतिविधिबाट टाढिएका पुराना कार्यकर्तालाई पुनः संगठनमा जोड्ने योजना पनि रहेको छ ।

नेकपाले संगठनात्मक कार्यक्रमसँगै आगामी निर्वाचनको तयारीलाई समेत अभियानमा समेटेको छ । जनतासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने तथा जनतामाझ परिचित, योग्य र इमानदार व्यक्तिहरूलाई उम्मेदवारका रूपमा अघि बढाउन आवश्यक आधार तयार गर्ने पार्टीको योजना छ ।

पार्टीले आगामी पुस ११ गते जिल्लाका ५२ वटै वडा र माघ १२ गते आठवटै स्थानीय तहमा अधिवेशन गर्ने तयारी गरेको छ । अभियानकै क्रममा स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र जनसम्पर्कका कार्यक्रमलाई पनि तीव्रता दिइने इन्चार्ज शर्माले बताउनुभयो ।

अभियानअन्तर्गत सूचना तथा सञ्चारका माध्यमबाट जनतासँग नियमित सम्पर्क स्थापित गर्ने, विदेशमा रहेका पार्टी कार्यकर्ता तथा उनीहरूका परिवारसँग समन्वय गर्ने र मतदाता नामावलीमा नाम दर्ता, संशोधन तथा अद्यावधिक गर्न सहजीकरण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

यसका अतिरिक्त गणतन्त्र, संविधान र राष्ट्रियताका विषयमा जनतालाई सुसूचित गराउने तथा सरकारका कामकारबाहीबारे जनस्तरमा छलफल र खबरदारी गर्ने कार्यक्रम पनि अभियानमा समेटिएका छन् । सुकुम्बासी तथा भूमिहीनका समस्या, महँगी, भ्रष्टाचार र सार्वजनिक सेवा प्रवाहमा देखिएका बेथितिका विषयलाई जनतामाझ उठाउने नेकपाको तयारी छ ।

भोटेकोसी, बूढीगण्डकी र कालीगण्डकी क्षेत्रमा भएका प्राकृतिक विपद् तथा त्यसपछिको व्यवस्थापनमा देखिएका सरकारी कमजोरीबारे पनि जनतालाई जानकारी गराउने पार्टीले जनाएको छ ।

दुई महिनासम्म सञ्चालन हुने अभियानमार्फत पार्टीले संगठनात्मक गतिविधि विस्तार, आन्तरिक एकता, जनसम्पर्क र आगामी राजनीतिक कार्यक्रमलाई एकसाथ अघि बढाउने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मध्यविन्दु स्काईलाइन एकेडेमीमा वार्षिक खेलकुद प्रतियोगिता २०८३ को भव्य रूपमा सुरु

विमा गाहा मगर । नवलपुर, कात्तिक १६ । मध्यविन्दु स्काईलाइन एकेडेमीमा कात्तिक १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने ‘Annual Sports Meet 2083 ’ सोमबार एक विशेष

Nawalpurfm

कावासोती  नगरपालिकाद्वारा प्लास्टिकका फूलमाला र खादा प्रयोग नगर्न आग्रह

नवलपुर, कात्तिक १३ । कावासोती नगरपालिकाले प्लास्टिकजन्य कृत्रिम फूल, माला तथा सजावटका सामग्रीको ओसारपसार, बिक्री–वितरण र भण्डारण नगर्नरनगराउन

Nawalpurfm

मध्यविन्दु नगरपालिकाद्वारा प्लास्टिकका फूलमाला र खादा प्रयोग नगर्न आग्रह

नवलपुर, कात्तिक १२ । चाडपर्व, उत्सव तथा विभिन्न औपचारिक कार्यक्रममा प्लास्टिकजन्य फूलमाला र खादा प्रयोग नगर्न मध्यविन्दु नगरपालिकाले नगरवासीलाई

↑