नौमती बाजा जोगाउँदै आमाहरू
नवलपुर, साउन ३० । बुबाले नौमती बाजा बजाएको देख्दा सरिता परियारको बाल मनस्थितिमा आफूले पनि सिक्न पाए हुन्थ्यो भन्ने इच्छा पलाएको थियो । त्यतिबेला उहाँले बुबाको तीतो जवाफ पाउनुभयो, ‘महिलाले बाजा छुनु हुँदैन ।’ ‘छोरीले बाजा छुनु अशुभ हुन्छ’, भन्ने जवाफ पाएपछि सरिताको मन खुम्चिएको थियो तर समयले सबै फेरिदिन्छ ।
बाल्यकालमा महिलाले बाजा छुन नहुने भन्दै सुन्दै आएकी सरिता अहिले नौमती बाजा संरक्षण गर्ने अभियानमा जुट्नुभएको छ । यतिमात्रै होइन, बाजाको संरक्षणसँगै आयआर्जनसमेत गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘बुबाले छुनुहुन्न भन्नुहुन्थ्यो,’ अहिले हामीले नबजाए नौमती बाजा लोप हुने स्थिति छ ।’ तार्केश्वर–७ पुटुङमा रहेको ‘लोक संस्कृति महिला नौमती बाजा समूह’ मा सरिताजस्तै आमाहरू मिलेर नौमती बाजाको संरक्षण र प्रवद्र्धनमा सक्रिय हुँदै आउनुभएको छ । समूहको उपाध्यक्षसमेत रहनुभएकी सरिताले बाजा समूहमा लागेपछि आफ्नो जीवनशैली नै फेरिएको बताउनुहुन्छ ।
काठमाण्डौको चन्द्रागिरिमा जन्मनुभएकी उहाँले थानकोटभन्दा बाहिर कहिल्यै जानुभएको थिएन । घर, चुलोचौको र परिवारको जिम्मेवारीले उहाँलाई घुम्ने र बाहिरी दुनियाँ बुझ्ने अवसर हराएको थियो तर जब उहाँ २०७६ सालमा बाजा समूहमा आबद्ध हुनुभयो, त्यसपछि सरिता बाजा बजाउँदै काठमाण्डौ बाहिरका जिल्लासमेत पुग्नुभएको छ । ‘बाजा बजाउन नसिकेको भए, काठमाण्डौ बाहिर देख्नै पाउँथिन होला’, उहाँ भन्नुहुन्छ, ‘एकातिर संस्कृति जोगिने अर्कातिर आयआर्जन र आत्मविश्वास बढ्ने हुँदा अहिले निकै खुसी छु ।’ सरिताले नौमती बाजामा सनही, दमाह, झ्याली, टेम्को प्रायः सबै बाजा बजाउन दक्ष हुनुहुन्छ । श्रीमान र छोराछोरीको सहयोगले गर्दा नौमती बाजा बजाउन सफल भएको उहाँले सुनाउनुभयो ।
सामाखुसी बस्ने अम्बिका सेवालाई नौमती बाजा बजाएर स्वावलम्बी बन्नु त्यति सजिलो थिएन । उहाँले सुरुमा श्रीमानको अनुमति पाउनै निकै सङ्घर्ष गर्नुपरेको थियो । राति ढिलासम्म बजाउनुपर्ने, घर छाडेर बाहिर जानुपर्ने हुँदा बाजा बजाउने काम गर्नु हुँदैन भन्ने श्रीमानको धारणा थियो । “पछि विस्तारै उहाँलाई सम्झाउँदै गएपछि अहिले सजिलो छ’, उहाँले भन्नुभयो, ‘आम्दानी भएपछि घरको खर्च उठाउन थालेपछि उहाँ पनि खुसी हुनुभयो ।’ अम्बिकाका अनुसार नौमती बाजा बजाएर घर बाहिर निस्किँदा सम्मानसहित उत्साह पनि थपिएको बताउनुभयो । अहिले आफूलाई देखेर अरु दिदीबहिनीहरूले पनि बाजा सिक्ने रहर गर्न थालेको उहाँले सुनाउनुभयो ।
महिला भएकै कारण समाजको बन्देज चिरेर बाहिर काम गर्न सजिलो छैन । कतिपय समयमा राति ११ बजे आएर घरको भान्सा सम्हाल्नुपरेको पीडा उहाँसँग छ । अम्बिका भन्नुहुन्छ, ‘मैले नपकाउँदासम्म श्रीमान् भोकै बस्नुहुन्थ्यो । राति जतिबेला आएर भए पनि पकाएर खुवाउनुपथ्र्यो ।’ महिलाले गर्ने सङ्घर्षमा बन्देज आउँछन् तर ती सबै बन्देज चिर्नसके समाज रुपान्तरण हुँदै जान्छ भन्ने अम्बिकाको भोगाइले बताउँछ । उहाँले चुनौतीलाई आत्मसात् गर्दै अघि बढेकै कारण अहिले पहिचान र सम्मानसहितको आयआर्जन गर्ने थलो नौमती बाजा समूह बनेको छ ।
समूहकी कोषाध्यक्षसमेत रहनुभएकी अम्बिका मङ्सिर, माघ, फागुन, वैशाख महिनामा नौमती बाजाको माग बढी हुने गरेको बताउनुहुन्छ । आउँदो मङ्सिरका लागि अहिलेदेखि नै ‘बुकिङ’ भइसकेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षभरिको कमाउने मुख्य समय भनेकै मङ्सिर महिना हो । यो बेला प्रायः एक दिन पनि फुर्सद हुँदैन ।’ बाजा बजाउने क्रममा उहाँहरू काठमाण्डौ कटेर धरान, धनकुटा, बुटवल, पोखरा, पाल्पा, बुटललगायत पूर्वदेखि पश्चिमसम्म पुग्नुभएको छ । अम्बिकाका अनुसार विवाह र व्रतबन्धका लागि एक दिनको ४० देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरिएको छ । यसबाहेक स–साना कार्यक्रमहरूमा समय र दूरीका आधारमा पारिश्रमिक लिने उहाँले बताउनुभयो । ‘बाजा बजाउँदा नाम र सम्मान दुवै पाएका छौँ’, उहाँले भन्नुभयो ।
समूहकी अध्यक्ष पुनम भुसालले बाजा बजाएरै आफ्नो पहिचान स्थापित गर्न पाएको सुनाउनुभयो । उहाँले सुरुका दिनमा बाजा जुटाउन र प्रशिक्षण पाउन निकै मिहिनेत गर्नुपरेको सम्झनुहुन्छ । सात वर्षअघि उहाँहरूले बाजा बजाउन थाल्दाको समाज फरक थियो । भान्सामा डाडु र पन्यु समाउनेबाहेक महिलाले बाजा बजाउने कल्पना गर्न कठिन थियो । ‘तर, आँट गरे पनि सबै सम्भव हुँदोरहेछ’, उहाँले भन्नुभयो, ‘शुरुमा झन्डै एक लाख व्यक्तिगत लगानी गरेर समूहमा बाजा सिक्न थालियो । पछि कमाउँदै सबै सदस्यले ऋण चुक्ता गर्यौँ । हामीजस्ता गृहिणी आमाहरूका लागि यो ठूलो उपलब्धि थियो ।’ यद्यपि अब भने नौमती बाजाको संरक्षण गर्ने युवा पुस्ताको अभाव रहेको उहाँले सुनाउनुभयो ।
पुनमका अनुसार नौमती बाजा व्यवसाय मात्रै होइन । यसमा आबद्ध भएका महिलाहरूले सामाजिक संस्कृति जगेर्नामा दिएको योगदान पनि हो । तीन महिनाको तालिमपछि बाजा बजाउन पोख्त भएका महिलाहरू अहिले आत्मनिर्भर जीवन जिउन सफल भएको उहाँले सुनाउनुभयो । महिला सशक्तीकरणको सुक्ष्म तर प्रभावकारी उदाहरण बनेको उहाँको बुझाइ छ । पुनम समूहमा सनाही बनाउन दक्ष हुनुहुन्छ । आवश्यक परेको खण्डमा अरु बाजा पनि बजाउन उहाँ पोख्त हुनुहुन्छ ।
विवाह, व्रतबन्ध, पूजालगायत विभिन्न कार्यक्रमहरूमा समूहलाई निम्तो आउँछ । उहाँहरू त्यही निम्तोको आधारमा निश्चित पारिश्रमिक लिएर बजाउन जानुहुन्छ । संस्थाको सुरुआती दिनमा महिला समूहले खोलेका बाजा बजाउने समूह कम थिए । अहिले यसको प्रतिस्पर्धा बढ्दै गएपछि पारिश्रमिक दर पनि विगतको तुलनामा घट्दै गएको समूहका अध्यक्ष पुनमले सुनाउनुभयो । पुनमलाई बाजा बजाएर व्यवसायसँगै गाउँमा समाज सेवा गर्ने, सरसफाइ अभियानमा सरिक हुने र संस्कृतिको महत्व दर्शाउने भूमिका पूरा भएको छ ।
नौमती बाजा बजाउने प्रशिक्षण दिँदै आउनुभएका ध्रुव नेपालीले पछिल्लो समय धेरै आमा समूह बाजा बजाउनमा उत्सुक हुनुभएको बताउनुहुन्छ । उहाँले गाउँघरमा पुगेर सयभन्दा बढी आमा समूहलाई नौमती बाजा र पञ्चेबाजा बजाउन सिकाउनुभएको छ । उहाँले अहिलेसम्म गोरखा, काठमाण्डौ, धादिङ जिल्लाका सयभन्दा बढी महिलालाई बाजा बजाउने प्रशिक्षण दिनुभएको छ । धादिङ जिल्लामै १२५ महिलालाई बाजा बजाउन सिकाएको अनुभव उहाँको छ । गाउँघरमा युवापुस्ता कम छन् । भएका आमाहरूले नै प्रशिक्षण लिएर बाजा संरक्षणमा जुटेको प्रशिक्षक ध्रुवले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँमा आमाहरू बाजा बजाउन सिक्ने इच्छा बढ्दै गएको छ । कतिपय सिकेर आत्मनिर्भरसमेत बन्नुभएको छ ।’
ध्रुवका अनुसार नौमती बाजामा दुईवटा सनही, दुईवटा नरसिंहा, दुईवटा दमाह, एक–एकवटा ढोलक, टेम्को र झ्याली पर्छन् । नौमती बाजा भनेको दोहोरो बाजा हो, जसमा पञ्चे बाजामा एक–एकवटा गरी पाँच प्रकारका बाजा हुन्छन् । प्रशिक्षक ध्रुवले नौमती बाजा परम्परागत रूपमा अत्यन्त महत्व रहेको बताउनुभयो । यसलाई धनीहरूको रोजाइमा पर्ने बाजा पनि भन्ने गरिन्छ, जसले अलि धेरै रुपैयाँ खर्च गर्न सक्छ उसले नौमती बाजा बजाउने गरेको उहाँको अनुभव छ । ‘पहिला–पहिला नौमती बाजा बजाउन सक्नेलाई निकै धनी मानिन्थ्यो’, उहाँले भन्नुभयो, ‘नौमती बाजाको अहिले पनि उत्तिकै महत्व बढ्दो छ । तर यसलाई बजाउनेहरूको कमी हुँदै गएको छ ।’ घरमा बसेका आमा र दिदीबहिनीले नै नौमती र पञ्चेबाजाको परम्परागत संस्कृति जोगाउँदै आएको उहाँले बताउनुभयो ।

नुवाकोटमा रोकिराखेको बसले गुडेर भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो
नवलपुर, साउन ३० । नुवाकोटको थानाभञ्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । अरू ३ जना घाइते भएका छन् । शिवपुरी गाउँपालिका–७

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
नवलपुर, साउन ३० । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश मन्त्रिपरिषद्को पछिल्लो बैठकले

देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना
नवलपुर,साउन ३० । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा






प्रतिकृया दिनुहोस