भोटेकोशी बाढीको दुई महिना पुग्यो : एक हजार ३४५ शवको अझै सनाखत हुन सकेन
नवलपुर,कात्तिक १० । भोटेकोशी बाढीको दुई महिना पुगेको छ ।
गएको भदौ १० मा रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा ५ हजार २८५ जना बेपत्ता भएकोमा एक हजार ४५७ जनाको शव भेटिएको छ ।
त्यसमध्ये ११२ शवको मात्र सनाखत भएको छ । बाँकी शव जमिनमुनि व्यवस्थापन गरी डीएनए परीक्षणमार्फत सनाखतको प्रक्रिया अघि बढाइएको छ । एक हजार ३४५ शवको अझै सनाखत हुन सकेको छैन । डीएनए प्रविधिबाट सनाखतको प्रक्रिया अघि बढाइए पनि त्यसको नतिजा आउन अझै एक महिना लाग्ने भएको छ ।
नेपाल प्रहरीका अनुसार सनाखत हुन नसकेका सबै शवको हड्डीबाट डीएनए नमुना लिएर प्रोफाइलिङ गरिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अब सबै प्रक्रिया पूरा हुन अझै एक महिना लाग्न सक्छ ।
रसुवाको लाङटाङ हिमालमा रहेको हिमनदी र चट्टानी भूभाग ल्हेन्दे हिमनदीमा खस्दा ल्हेन्दे खोला–भोटेकोशी–त्रिशूली–नारायणीमा आकस्मिक रूपमा बाढी आएको थियो । बाढीले रसुवागढी नाकासहित रसुवा र नुवाकोटका नदीआसपासमा ठूलो क्षति पुर्याएको छ । भोटेकोशी बाढीमा बेपत्तालाई मृत घोषणा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।
गृह मन्त्रालयले पालिकालाई यससम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नेसम्बन्धी कार्यविधि, २०८३ बनाएर त्यहीअनुसार प्रक्रिया अघि बढाएको हो । यस्तै कतिपय बाढी प्रभावित जोखिम मोलेरै पुरानो थातथालोमा फर्किन थालेका छन् । बाढी गएको दुई महिना बित्दा पनि विस्थापितको पुनर्स्थापन अनिश्चित भएपछि उनीहरू पुरानै ठाउँमा फर्किन थालेका हुन् ।
संघीय सरकारले मासिक घरभाडा सहायता, अस्थायी आवास निर्माण र सुरक्षित जग्गा पहिचानको काम अघि बढाएको जनाएको छ । तर प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र विस्थापितहरू संघ सरकारको निर्णय कार्यान्वयन हुन नसकेको गुनासो गर्छन् ।
भदौ २६ को मन्त्रिपरिषद् बैठकले विस्थापित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म बढीमा ६ महिनाका लागि मासिक आर्थिक सहायता दिने निर्णय गरेको थियो । निर्णयअनुसार चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र त्यसभन्दा बढी सदस्य भए हरेक थप सदस्यका लागि दुई हजार रुपैयाँ दिने व्यवस्था छ ।
सरकारले बाढीको उच्च जोखिम क्षेत्रमा पुनः बसोबास गर्न नमिल्ने हुँदा तत्कालै फर्केर बस्ने अवस्था नरहेको जनाएको छ । पुरानै ठाउँमा फर्किने विकल्पसमेत नभएका परिवारको अवस्था अझ जटिल छ । विस्थापित कतिपय होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने
नवलपुर,कात्तिक १० । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि बुधबार रातिदेखि पर्ने भएको छ । पर्सि बिहीबार, शुक्रबार र शनिबार देशका

गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो, तीन जना घाइते
नवलपुर,कात्तिक १० । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

रसुवाको उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया शुरु
नवलपुर, कात्तिक ९ । नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको








प्रतिकृया दिनुहोस