असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बङ्गलादेशतर्फको निर्यात पनि शुरु
नवलपुर,कात्तिक ८ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ ।
बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गएको वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ ।
नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको छ । यो विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । असोज महिनामा भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट गरिएको थियो ।
द्विपक्षीय विद्युत बिक्री सम्झौताअनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत बिक्री गरिएको थियो भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजारको डे—अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत हरेक वर्ष भारत एवम् बङ्गलादेशमा निर्यात गर्दै आएको छ ।
द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ । चालु आर्थिक वर्षका पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो । उहाँका अनुसार असोज महिनामा भारततर्फ निर्यात गरिएको कुल विद्युत परिमाणमध्ये झण्डै दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो ।
भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पनि फेरि शुरु भएको छ । नेपालबाट बंगलादेशतर्फ अस्ति शुक्रबार बेलुकादेखि पुनः शुरु भएको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेशतर्फ निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो ।
बाढीका कारण द्विपक्षीय सम्झौता बमोजिम स्वीकृति प्राप्त जलविद्युत केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यात आंशिक रूपमा प्रभावित भएको थियो ।

दशैँको अन्तिम दिन आज राति जाग्राम बसेर समापन गरिँदै
नवलपुर,कात्तिक ८ । दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ

बुधबारदेखि बाली भित्र्याउने र लामो दुरीको यात्रा नगर्न मौसमविद्को सुझाव
नवलपुर,कात्तिक ८ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यसको

काठमाण्डौ उपत्यकामा एकैदिन ३३६ गाडीचालक कारबाहीमा
नवलपुर, कात्तिक ७ । काठमाण्डौ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ गाडीका चालक कारबाहीमा परेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी









प्रतिकृया दिनुहोस